विदेशमा अलपत्र परेकाहरु सरकारी खर्चमा स्वदेश फर्किने

२०७७ साउन २ गते २:०६ Realkhabar

रियलखबर १६ जुलाई कोरोना भाईरस अर्थात कोभिड १९ को महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीहरु सरकारी खर्चमा स्वदेश फर्किन पाउने भएका छन् । कोभिड १९ को विश्वव्यापी संक्रमणका कारण वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका नेपाली नागरिकको उद्धार गरी स्वदेश फिर्ता गर्नेसम्वन्धी निर्देशिका २०७७ मन्त्रिपरिषद्बाट पारितभएपछि उनीहरुलाई सरकारी सुविधामा स्वदेश फर्किने भएका हुन् ।
उक्त निर्देशिका पारित भएसँगै सरकारले नागरिकलाई आफ्नै खर्चमा स्वदेश फर्काउने सुविधा कार्यन्वयनमा आउनेछ । कोरोना कहरका कारण अलपत्र नागरिकलाई वैदेशिक रोजगारी प्रबद्र्धन कोषको रकमकबाट स्वदेश फिर्ता ल्याउने निर्णय सरकारले गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा युवराज खतिवडाले विहिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका तर महामारीको असरले विदेशमै अलपत्र परेका तथा आफ्नै खर्चमा स्वदेश फर्किन नसकेका श्रमिकहरुलाई स्वदेश फर्काउन कोषको रकम प्रयोग गरिने डा खतिवडाले वताएका छन् ।
यसअघि विदेशमा रहेका नेपालीहरुले आफ्नै खर्चमा चाटर्ड फ्लाईटबाट स्वदेश फर्किनुपर्ने निर्णय गरेको थियो । कतिपय आफ्नै खर्चमा चर्को भाडातिरेर स्वदेश फर्किएपनि धेरैजसोले खर्चको अभावमा फर्किन पाएका थिएनन । आफ्नै खर्चमा स्वदेश फर्किनुपर्ने भनेर गरेको सरकारले गरेको निर्णयका विरुद्ध सर्वोच्व अदालतमा रिट परेको थियो । अदालतले विदेशमा अप्ठेरोमा परेकालाई वैदेशिक रोजगार प्रवद्धन बोर्डको कोषमा रहेको रकम प्रयोग गरि स्वदेश फर्काउने व्यवस्था मिलाउन आदेश दिएको थियो ।
अदालतको आदेशपछि निर्देशिका तयार गरि मन्त्रीपरिषदमा पेश गरेको थियो । मन्त्रीपरिषदले उक्त निर्देशिका पारित गरेपछि आफ्नै खर्चमा विदेशमा अलपत्र परेका नागरिकहरुलाई स्वदेश फर्किने बाटो खुलेको हो वातावरण तयार वनेको हो ।
निर्देशिकामा तोकिएका मापदण्डभित्र पर्ने श्रमिकहरुको टिकटसहितका अन्य खर्च पनि सरकारले व्यहोर्नेछ । सरकारबाट श्रम स्वीकृति लिएकाहरुले निर्देशिकामा तोकिएका सुविधाहरु प्राप्त गर्नेछन् । रोजगारी गुमाएका, अशक्त, विरामी, सुत्केरी, कम्पनीबाट टिकट नपाएका, आममाफी पाएका लगायत अप्ठ्यारोमा परेकाहरुलाई सरकारले आफ्नै खर्चमा नेपाल फर्काउनेछ । यस कार्यमा विदेशस्थित नियोगहरुले सहयोग गर्नेछन् ।