महामारीले विदेशमा मात्र १ सय ९१ जना नेपालीको निधन, २ सय ४६ जनाको शव सहित ४५ हजारबढि स्वदेश फर्किए

२०७७ साउन २४ गते ०:३३ Realkhabar

रियलखबर ७ अगष्ट-  विश्वभर महामारीका रुपमा फैसिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण विदेशमा मात्र १ सय ९१ जना नेपालीको निधन भएको छ भने २ सय ४६ जनाको शव सहित ४५ हजार भन्दाबढि नेपालीहरु स्वदेश फर्किएका छन् ।

विदेशमा मात्र १ सय ९१ जना नेपालीको निधन, २ सय ४६ जनाको शव नेपाल ल्याइयो
कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण विदेशमा मात्र १ सय ९१ जना नेपालीको निधन भएको छ । शनिवार साँझसम्म विश्वमा ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएको गैरआवासीय नेपाली संघले जनाएको छ । ती मध्य १६ देशमा रहेका नेपालीको कोरोनाका कारणले निधन भएको छ । कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेन, भारत, नेपाल, साउथअफ्रीका लगायतका देशमा रहेका नेपालीहरुको ज्यान गएको थियो । विदेशमा विविध कारण मृत्यु भएका २ सय ४६ जनाको शव नेपाल ल्याई परिवारलाई बुझाइएको गैरआवासीय नेपाली संघले जनाएको छ । १ सय ७२ जनाको गन्तव्य मुलुकमै अत्येष्टीका लागि सहमति प्राप्त भएको छ । विदेशमा मृत्यु भएका ४९४ जनाको मध्ये अझै ७६ जनाको शव नेपाल ल्याउन बाँकी छ ।

४५ हजार ८ सय १२ जना स्वदेश फर्किए

शुक्रबारसम्म ४५ हजार ८ सय १२ जना नेपालीहरु स्वदेश फर्केको कोभिड १९ संकट व्यवस्थापन केन्द्र सिसिएमसीले जनाएको छ । केन्द्रका अनुसार सवैभन्दाबढि दुवईबाट १२ हजार १ सय ७५ जना फर्किएका छन् । त्यसैगरि साउदी अरेबियाबाट ६ हजार ९ सय ९७ जना, मलेसियाबाट ६ हजार ६ सय २० जना, कुवेतबाट ६ हजार ३ सय २९ जना, अष्टेलियाबाट १ हजार ८७ जना, जापानबाट १ हजार २३ जना, बहराईनबाट ९ सय ७० जना नेपाल फर्किएका छन् ।


त्यस्तै ओमानबाट ४ सय ९२ जना, अफगानस्तानबाट ३३ जना, थाईल्याण्डबाट ३ सय २६ जना, दक्षिण कोरियाबाट ७ सय २० जना, बंगलादेशबाट ८ सय ४१ जना, माल्दिभ्सबाट ७ सय ९ जना, पाकिस्तानबाट ७२ जना, हडकडबाट ८९ जना र सिंगापुरबाट २ सय ९७ जना रहेकाछन् । कोरोना संकटको वेला नेपाल फर्किनेहरुमा अमेरिकाबाट ४ सय २३ जना, बेलायतबाट २ सय २९ जना, इजरायलबाट १ सय २७, चीनबाट २ सय ८ जना, टर्कीबाट १ सय १० जना, स्विटजरल्याण्डबाट १० जना, फिलिपिन्सबाट २ सय १ जना, दक्षिण सुडानबाट २ सय ५० जना भारतबाट ८५ जना, इराकबाट ३९ जना र इजरायलबाट १ सय २७ जना छन् ।
वैदेशिक रोजगारी र विभिन्न कारणले विदेशमा पुगेकाहरु कोरोनाको संकटमा परेपछि सरकारले उनीहरुलाई सरकारले गत जेठ महिनाको तेस्रो सातादेखी स्वदेश फर्काउन शुरु गरेको हो ।