सरकारले रुकुम सोती घटनाका मृतक परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ दिने

२०७७ साउन २७ गते १४:४८ Realkhabar

रियलखबर ११ अगष्ट,
नेपाल सरकारले पश्चिम रुकुम सोती घटनामा ज्यान गुमाएका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ राहत प्रदान गर्ने भएको छ । सोमबारको बसेको मन्त्रिपरिषद बैठकले मृतकका परिवारलाई राहत दिने निर्णय गरेको हो ।
गत जेठ १० गते पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनामा जाजरकोट भेरी नगरपालिका ४ का नबराज विक सहित ६ जनाको हत्या गरिएको थियो । अन्तरजातिय प्रेमले निम्त्याएको उक्त घटनामा परि नबराजसहित गणेश बुढा मगर, संजीव विक, भेरी ११ का लोकेन्द्र सुनार र गोविन्द शाही र रुकुम चौरजहारी १ का टिकाराम नेपालीको ज्यान गएको थियो । केटी पक्षको आक्रमणबाट उनीहरुको निर्मम हत्या भएको थियो । साथै घटनामा भेरी ४ का लालबहादुर खड्का, मदन। शह, सरोज भडेल, आशीष विक, सुदीप खड्का घाईने भएका छन् । त्यसैगरि भेरी ३ का विभाग पुन, इन्द्रजंग शाही, भेरी १३ का भोला विसी, भेरी ११ का गोविन्द सुनार, भेरी ३ का महेश कार्की, सल्यान कुमाख ४ का डिल्ली विक र बाँके राप्ती सोनारी ४ का सुनिल सुनार घाईते छन् ।