राष्ट्रिय सभाको सदस्यमा वामदेव गौतम मनोनित

२०७७ असोज २ गते ०:०१ Realkhabar

रियलखबर १७ सेप्टेम्बर, अर्थमन्त्रि डा युवराज खतिवडाको कार्यकाल सकिएसँगै रिक्त रहेको राष्ट्रिय सभाको सदस्य पदमा नेकपाका उपाध्यक्ष वामदेव गौतम मनोनित भएका छन् । गत सोमबारको मन्त्रिपरिषद बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्यका लागि राष्टपतिसमक्ष सिफारिस गरेको थियो । संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम सरकारको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार सिंहदरबारमा गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले मनोनित गरे लगत्तै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सिंहदरबारमा गौतमलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।
राष्ट्रिय सभा सदस्य मनोनित गौतमले आफू राष्ट्रिय सभाको गरिमा बढाउन यहाँ आएको बताएका छन् । सिंहदरबारमा सपथ ग्रहण गरेपछि मन्तव्य राख्दै गौतमले भने, ‘म राष्ट्रिय सभामा यसको गरिमा बढाउनको निम्ति नेपालको संविधानबमोजिम, राष्ट्रिय सभाको नियमावलीबमोजिम मैले निर्वाह गर्नुपर्ने कर्तव्य निर्वाह गर्नका निम्ति आएको छु सभाको सदस्य रहँदासम्म कहिल्यै पनि राष्ट्रिय सभाको गरिमा र प्रतिष्ठा गिराउने गरी कुनै क्रियाकलाप गर्ने छैन।’
उनले आफूलाई राष्ट्रिय सभामा मनोनयन गर्ने नेपाल कम्युनिष्ट पार्टी, प्रधानमन्त्री र राष्ट्रपतिप्रति आभार व्यक्त गरे । गौतम २०७४ को निर्वाचनमा बर्दिया–१ बाट पराजित भएका थिए ।

सरकारले गौतमलाई राष्ट्रियसभामा सिफारिस गर्ने निर्णय गरेको जानकारी प्रधानमन्त्री केपी ओलीले भदौ १८ गतेको नेकपा सचिवालय बैठकमा गराएका थिए।

तस्बिर : संसद सचिवालय