राम कुमार सुवेदी-
अमेरिकाको राष्ट्रपतिमा नव-निर्वाचित बाईडेन पूर्व राष्ट्रपति बराक ओबामाका दुई कार्यकालका उप राष्ट्रपति हुन् । उनी यही नोभेम्बर अन्त्यतिर ७८ बर्षका हुनेछन् । राष्ट्रपतिको आन्तरिक पार्टी मनोनयनमा तीन पटक लडेर यो पटक राष्ट्रपति नै हात पारे । २००८ मा ओबामाले उनलाई आफ्नो रनिंग मेटको रूपमा उप-राष्ट्रपतिको उम्मेद्वारको रूपमा छनोट गरे । र उक्त पदमा आठ बर्ष काम गरे ।ओबामाले बिदेशनीतिमा दक्ष र रिपब्लिकन पार्टीसगँ समन्वय, सहकार्य, समझदारी गर्न सक्ने खुवी देखेर बाईडेनलाई रोजेका थिए । र उनले ओबामाको अनुमानलाई धेरै कामहरूले सत्य सावित गरेका थिए l ओबामाको ओबामा केयर नीति, बिदेश नीति, आर्थिक प्रोत्साहन प्याकेज र बित्तीय सुधारमा ठूलो साथ र सहयोग गरेका थिए र दुबै दललाई एकै ठाऊँमा ल्याउन सफल भएका थिए । जो बाईडेन डेलवेयर राज्यबाट ६ पटक सिनेटर भएका थिए । १९७२ मा पहिलोपल्ट सिनेटर निर्वाचित हुँदा सबैभन्दा कम उमेरका (३० बर्ष) भनेर गनिएका थिए भने अहिले राष्ट्रपति हुँदा सबैभन्दा पाको उमेरका राष्ट्रपति भनेर दर्ज भएका छन् । अर्को संयोग, पहिलोपल्ट सिनेटर निर्वाचित भएको ४८ बर्ष अघि पनि आजैका दिन नोभेम्बर ७ मै घोषणा गरिएको थियो । जो बाईडेनको जन्म आईरिस क्याथोलिक परिवारमा १९४२ पेन्सलभानियाको स्क्रेन्टनमा भएको थियो । पछि उनी पेन्सलभानियाबाट डेलवेयर बसाईँ सरेका थिए । राजनीतिको शुरुवातिमा उनले गोरा जातिका केटाकेटीसगँ काला जातिका केटाकेटीलाई सगैँ राखेर पढाउन हुन्न भनेर समर्थन गरेको र १९९४ को अपराध रोक्ने बिधेयकलाई कानून बनाउन समर्थन गरेका थिए र त्यही कानूनले धेरै अश्वेत समुदायका मान्छेलाई कारागारमा कोच्याउन बल पुर्याएको थियो । त्यसैलाई लिएर बाईडेनले चुनाव र चुनाव अघि धेरै पटक माफी माग्नु परेको थियो । बाईडेन समलैंगिक विवाहको पूर्ण र खुला समर्थन गर्छन् र यसपल्ट समलैंगिक परिवारको धेरै मत पनि पाएका थिए । उनको व्यक्तिगत र पारिवारिक जीवन साह्रै पीडादायक छ । पहिलोपल्ट सिनेटमा निर्वाचित भै शपथ लिन डिसीमा रहँदा उनकी श्रीमती र छोराछोरी क्रिसमसका लागि सामान किन्न जाँदा ट्रकले उनीहरुको कारलाई ठक्कर दिई श्रीमती र दुई छोरीको घट्नास्थलमै निधन भएको थियो । डा जिल बाईडेन उनकी दोश्री श्रीमती हुन् । उक्त दुर्घट्नामा उनका दुबै छोराहरु सख्त घाईते भएर पछि निको भएका थिए । पछि २०१५ मा एक छोरो बो बाईडेनको आफू उप-राष्ट्रपति हुँदा ब्रेन ट्युमरबाट निधन भएको थियो । उनी आँफै पनि बोल्दा भकभक गरेर बोल्ने रोगले पीडित छन् । आफ्नो परिवारमा भएको असहैय वियोग र वेदना र आफू पनि अकमकाएर बोल्ने रोगले पीडित भएका कारण कसैको त्यस किसिमको पीडा देखे वा सुने अति समवेदनशील हुन्छन् र सान्त्वना, सल्लाह दिन तुरुन्तै तयार हुन्छन् । यस्ता दर्द र दु:खबाट साह्रै दुखित हुन्छन् । अत: अहिले कोभिडबाट झन्डै साढे दुई लाखको ज्यान गएकोमा कति चुनावी सभामा स्तव्ध र मर्माहात भएका छन् । दुई छोरा मध्ये बो बाईडेन डेलवेयरको एटोर्नी र अमेरिकी सेनामा रहेर ईराक लडाईंमा भाग लिएका थिए । २०१५ मा उनको ब्रेन ट्यूमरका कारणले निधन भयो । अर्का छोरा हन्टर बाईडेनलाई एक बिबादित व्यक्तिका रूपमा चर्चा गरिन्छ । कानूनको पढाई सकेर उनी लगाम नलगाएको घोडा जस्तै भएका थिए । लागू औषधी कोकिन सेवन गरेकाले हन्टरलाई अमेरिकी सेनाबाट अवकास दिएका थिए । हन्टरकी श्रीमती पनि लागू औषधी सेवन गर्ने र रात्री क्लबहरुमा जाने गर्थिन् । पछि उनीहरुबीच सम्बन्ध विच्छेद भएको थियो । बिदेशी युक्रेनियन कम्पनी बरिस्मासगँ हन्टरको नोकरीको सम्बन्ध र चीनबाट हन्टरले हिरा उपहार लिएको भन्ने समाचारहरुमा आएका थिए । बाईडेन विरोधीहरुको चुनावी मसला खुब भएको थियो । तर यसले चुनावलाई त्यस्तो कुनै नकरात्मक प्रभाव परेको देखिएन । झन्डै पाँच दशकको लामो राजनीतिक यात्रा, आठ बर्ष व्हाईट हाउसमामा ओबामाको सहायक भै काम गरेकोले बिदेश नीतिमा उनी पुरानो, पाको र परिपक्व अनुभव रहेको छ । यो नै उनको सर्वाधिक शक्ति हो । फेरि उनी सिनेटमा परराष्ट्र समितिको अध्यक्ष समेत भएकाले उनको बैदेशिक नीति दमदार र वजनदार हुने अनुमान गरिन्छ । पाँच दशकको लामो राजनीतिक यात्रामा कयौँ विदेशी राजनेताहरुलाई भेटेका छन् र धेरैको नाडी छामेका छन् र विदेश नीतिको अध्ययन गरेका छन् । सन १९९१ को खाडी युद्धका विरुद्धमा मत दिएका बाईडेने ईराक युद्धलाई शुरुमा समर्थन गरेका थिए । पछि ईराक युद्धको विरुद्धमा गएका थिए । विदेश नीतिमा बढो होसियारपूर्वक मध्यमार्गी कदम चाल्ने रूपमा बाईडेनलाई मानिन्छ । जो बाईडेन एक प्रखर बक्ताको रूपमा गनिन्छन् । मीठो भाषा र मधुर शब्द प्रयोग गर्ने बाईडेन जोक गर्न र सभा र भेलालाई तत्कालै हँसाउन पनि सिपालु छन् । सभा र भेटमा श्रोता वा दर्शकलाई आत्मीयता देखाउन चुक्दैनन् । कहिलेकाहीँ आफूले के बोले र के मा उठेको भन्ने पनि भुल्छन् बाईडेन । धेरै सभामा म सिनेटमा उठेको भनेर झुक्किएर भनेका कयौँ उदाहरण छन् । कहिलेकाहीँ विवादित कुरा राख्ने आदत पनि उनको रहेको छ । बहसमा तयारी नभै आउने र उत्तर दिँदा जनमत के छ त्यसको विपरित बोलिदिने कारणले उनको चुनावी क्याम्पेनलाई सधैं अफ्ठ्यारो पार्ने गर्थ्यो । जो बाईडेनलाई बधाई र सफल कार्यकालको शुभकामना ।
© 2020 Realkhabar.com. All Rights Reserved || Developed by: Isoft