प्रधानमन्त्री देउवाले संसदमा पाए विश्वासको मत

२०७८ साउन ४ गते १:४९ Realkhabar

कोभिड नियन्त्रणमा केन्द्रित रहने छु : प्रधानमन्त्री देउवा

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । आइतबार प्रतिनिधि सभामा विश्वासको मतको प्रस्ताव राखेका देउवाको पक्षमा १६५ मत आएको छ।विपक्षमा ८३ मत आएको छ भने मत दिन्न भन्नेमा एक मत परेको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरे । देउवाले विश्वासको मत प्राप्त गरेको सभामुख सापकोटाको भनाइ छ। आज प्रतिनिधि सभामा दुई सय ४९ जना सांसद उपस्थित थिए । देउवालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा एमालेका केही सांसदले मत दिएका हुन्। एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका केही सांसदले पनि देउवालाई विश्वासको मत दिएका थिए । सर्वोच्चले संविधानको धारा ७६ को ५ बमोजिम प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रियामा दलीय ह्वीप नलाग्ने व्याख्या गरेको थियो ।

प्रधानमन्त्री देउवाले आफू जनताको माग पूरा गर्न केन्द्रित रहने प्रतिवद्धता जनाउनुभयो । यसअघिका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको राम्रो कामलाई निरन्तरता दिने पनि उहाँले बताउनुभयो । ओली नेतृत्वको सरकारले केही राम्रो काम पनि गरेकाले प्रधानमन्त्री देउवाले त्यसकालागि धन्यवाद व्यक्त गर्नुभयो । कोभिड नियन्त्रणका लागि सरकार सबै प्रयत्न गर्ने र सबैको सहयोगको उहाँले अपेक्षा गर्नुभयो ।

सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा विघटन बदर गरी देउवालाई प्रधानमन्त्री नियुक्त गर्न अन्तरिम आदेश जारी गरेको थियो । राष्ट्रपति कार्यालयले मंगलबार दिउँसो विज्ञप्ति जारी गरी देउवालाई प्रधानमन्त्री नियुक्त गरेको जनाएको थियो । संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीको नियुक्ति भए पनि राष्ट्रपति कार्यालयले सो कुरा उल्लेख नगरीकन प्रधानमन्त्री नियुक्ति गरेको पत्र जारी गरेको थियो । उक्त भाषा परिमार्जन गर्नुपर्ने भन्दै साँझ ६ बजे राखिएको सपथग्रहणमा देउवा सहभागी भएका थिएनन् । भाषा सच्याइएपछि देउवाले सपथ लिएका थिए । नवनियुक्त प्रधानमन्त्री देउवाले कांग्रेसबाट बालकृष्ण खाँणलाई गृहमन्त्री,    ज्ञानेन्द्र कार्कीलाई कानुन मन्त्री तथा माओवादीबाट जनार्दन शर्मालाई अर्थ र पम्फा भुसाललाई ऊर्जा मन्त्री नियुक्त गरेका छन् ।